डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका बौद्ध महातिर्थ स्थलहरुको भ्रमण ।
पूर्व निर्धारित योजना अनुसार यसवर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष, योगेश गुरुङको संयोजनमा १७ जनवरी २०२४को दिनमा पोखराबाट भारत स्थित बौद्ध धर्मसंग तथा भगवान बुद्धको जीवनकालमा जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुको भ्रमणका लागि प्रस्थान गरेका छन् । यस भ्रमणका तीर्थालुहरुको समुहलाई बौद्ध अर्घौ सदनका वरिष्ठ गुरु, श्रद्धेय खेनरिम्पोचे सन्तोष गुरुङ द्वारा विभिन्न बौद्ध तीर्थस्थलहरुबारे तीर्थालुहरुलाई ज्ञानबोध गराउनको लागि धार्मिक नेतृत्व गरेका छन भने यस भ्रमणमा अर्को एकजना लोपेन(आचार्य) गुरु थुप्तेन गुरुङले पनि सहभागिता जनाएका छन । ५१ जनाको ठूलो धार्मिक समुहलाई अध्यक्ष, योगेश गुरुङले पहिलो पटक बेलायतदेखिनै संयोजन गर्दै तीर्थयात्रा भरी संयोजकको भूमिका निर्वाह गरेका छन ।

भ्रमणमा निस्कनुभन्दा एकदिन पहिले १६ जनवरी २०२४को दिनमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका श्रद्धेय मुलगुरु, खेनरिम्पोचे शिरलामा गुरुङद्वारा बौद्ध अर्घौ सदनको हालै उद्घाटन गरेको नयाँ मुलगुम्बामा धर्मपालको विधिवत पूजा गरेर तीर्थालुहरुलाई भ्रमणबारे जानकारी दिँदै आशिर्वाद र शुभकामना व्यक्त गरेका थिए ।

शुरुको दिनदेखि अन्तिम दिनसम्म १४दिन (१७ जनवरीदेखि ३० जनवरीसम्म) भारतको वेशाली, सांकिशा, नालान्दा विश्वविद्यालय, राजगिर (राजगृह), गिद्धकुट, बेनुबन विहार, बौद्धगया, सारनाथ, कुशीनगर, श्रवास्ती, कुदन, तिल्लौराकोट हुँदै लुम्बिनीसम्मको छ । यस तीर्थयात्राले ती सबै तीर्थालुहरुले पुण्य सन्चय गर्नेछ र सकुशल तीर्थाटन गरेर साविकको समयमा आफ्नो गन्तव्यमा पुग्नेछन भन्ने हार्दिक मंगलमय शुभकामना संस्थाको तर्फबाट रहेकोछ । भविष्यमा पनि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले प्रत्येक वर्ष यस्ता तीर्थाटनको आयोजना गर्ने योजना रहेको छ ।

