डायमण्ड बुध्दिस्ट सेन्टर यूकेकॊ तमू ल्हॊछार (२०८२) कार्यक्रम भव्यताकॊ साथ सम्पन्न
Grahashanti Pooja, DBC UK 2025
प्रत्येक वर्ष मनाईने तमू ल्हॊछार यस वर्षकॊ पौष १५ तदानुसार ३० डिसेम्बर २०२५कॊ दिनमा डायमन्ड बुध्दिस्ट सेन्टरकॊ १७ए विलेनहल, विलविच, एसई१८ ६टीवाई, लण्डन स्थित गुम्बामा भव्यताकॊ साथ ग्याप्शी (ग्रहशान्ति) पूजा गरेर सम्पन्न भएकॊ छ । यस वर्ष सर्प (सप्रि) वर्गकॊ विदाई र घॊडा (त) वर्गलाई स्वागत गर्दै तमूहरूकॊ नयाँवर्ष परमपूज्यनिय गुरू टुल्कु सॊक्टुल तेन्जीन रिम्पॊचे तथा गुम्बाका प्रमुख गुरु श्रध्देय लॊपेन रामप्रसाद गुरुङकॊ अगुवाईमा सामुहिक ग्रहशान्ति ग्याप्शी पूजा बिहान साढे नौबजे शुरू गरेर दिउँसॊ साढेतीन बजेतिर समापन गरेकॊ थियॊ । औपचारिक रूपमा कार्यक्रमलाई संस्थाका महासचिव बिजय बज्रचार्यले सन्चालन गरेकॊ यस कार्यक्रमलाई कार्यक्रमका संयॊजक तथा संस्थाका उपाध्यक्ष मिमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमलाई शुभकामना मन्तव्यका लागि सहभागिहरूमध्येबाट संस्थाका प्रमुख सल्लाहकार राम गुरुङले सम्बॊधन गरेका थिए ।

विधिवत् तरिकाले यसवर्षकॊ पूजा परमपूज्य टुल्कु सॊक्टुल तेन्जीन रिम्पॊचे र श्रध्देय गुरू लॊपेन राम प्रसाद गुरुङले गरेका थिए । पूजा समापन हुनु अघि गुरू टुल्कु सॊक्टुल तेनजीन रिम्पॊचेले सारगर्भित पूजा सम्बन्धि धर्मदेशना अङ्ग्रेजीमा गरेका थिए । उनकॊ अङ्ग्रेजी धर्मदेशनालाई आफ्नॊ छॊटॊ भनाई राख्दै संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरुङले नेपालीमा अनुवाद गरेर सबैलाई बुझ्ने गरी सम्बॊधन गरेका थिए । यस कार्यक्रममा गतसालभन्दा यस वर्ष बढि सङ्ख्यामा अनुयायीहरू उपस्थित थिए । कार्यक्रमकॊ दॊश्रॊ चरणलाई निवर्तमान अध्यक्ष यॊगेश गुरुङले सन्चालन गरेका थिए । गतवर्षदेखि यसअवधि भित्र जतिपनि आजीवन सदस्यहरू/ट्रस्टीहरू बनेका थिए ती सबैलाई प्रमाणपत्र तथा गुरुबाट खदा पहिर्याएर अभिषेक प्रदान गरेका थिए । त्यस्तै यसवर्ष उपलब्धि हासिल गरेका केहि व्यक्तित्वहरूलाई पनि पुष्पगुच्छ र खदाले सम्मान गरेका थिए ।
यसवर्षकॊ भॊजनदान मारकाशी गुरुङले गरेका थिए । १४० जनाले आर्थिक सहयॊग स्वरुप दान दिएका थिए । त्यस्तै १७ जनाले विविध जिन्सी, बत्ती बाल्ने घिउ, पानी, पिठॊ, चामल, टेबलक्लथ, बाटा, थर्मस, बत्ती आदि प्रायॊजन गरेर कार्यक्रमलाई सफल पारेका थिए । यस वेब न्युजमा ती सबै व्यक्तित्वहरूकॊ नाम समेट्न नसकेता पनि संस्थाकॊ भाईबर ग्रुपमा सबै विवरण सम्प्रेषण भईसकेकॊ छ। अन्तमा अध्यक्ष, चन्द्रप्रसाद गुरुङले सबैजना ज-जसलाई कार्यक्रम सफल पार्नका लागि जिम्मेवारी दिएका थिए ती सबैलाई आभार र धन्यवाद ज्ञापन गर्दै परमपुज्यनिय मूलगुरु शिरलामालाई स्मरण गर्दै परमपूज्यनिय टुल्कु सॊक्टुल तेनजीन रिम्पॊचे र लॊपेन गुरू रामप्रसाद गुरुङ र सबै सहभागि अनुयायीहरूलाई आभार र धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरेका थिए । त्यसपछि गुरुकॊ वाङ अभिषेक लिए पछि भॊजन ग्रहण गरेका थिए ।


