डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा तथा प्रवचन
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा तथा प्रवचन
लण्डनः २३ डिसेम्बर २०१८को दिनमा प्लमस्टिड कमन, लण्डन स्थित प्लमस्टिड वर्किङ म्यान्स क्लबमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको आयोजनामा यसवर्षको ग्रहशान्ति पूजा तथा प्रवचन अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ ।
प्रत्येक वर्ष सम्पन्न गरिने वर्षभरीको कार्यक्रम मध्येको यो एउटा महत्वपूर्ण कार्यक्रम रहेको कुरा संस्थाका महासचिव योगेश गुरुङले कार्यक्रम सञ्चालनको क्रममा व्यक्त गर्दै धर्मलाई आस्था राख्ने सबै श्रद्धालुहरूलाई कार्यक्रमको रुपरेखा बारे बताएका थिए । बाटैबाट लामबद्ध भएर पूजाका लागि गुरुहरूलाई धार्मिक संस्कार अनुसार बौद्ध प्रार्थना गरेर स्वागत गरेको थियो ।
नेपालबाट आएका सम्मानित गुरुहरू क्रमशः खिम्पो सन्तोष गुरुङ, हुङ्त्राम सेचुङ लोपोन छिरिङ वाङदु गुरुङ, लामा खुसीमान गुरुङ र स्थानीय लामा धरम गुरुङद्वारा पूजा भव्यरुपमा सम्पन्न गरेका थिए । पूजा सकिन साथ खिम्पो सन्तोष गुरुङले बौद्ध धर्मबारे श्रद्धालुहरूलाई संक्षेपमा महत्वपूर्ण उपदेश द्वारा सम्बोधन गरे । श्रद्धालुहरूले कार्यक्रममा गुरुहरूबाट वाङ ९अभिषेक० ग्रहण गरेका थिए ।
यस धार्मिक कार्यक्रममा शुरुमा नै द्वीप प्रज्वलनको कार्यक्रम राखिएको थियो । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङ लगायत सबै संघसंस्थाबाट प्रतिनिधित्व गरेर पूजामा उपस्थित सबैले पूजामा द्वीप प्रज्वलन गरेर प्रार्थना गरेका थिए । महासचिवले यसवर्षभरी स्वर्गारोहण भएका सबै परिवारका उपस्थित सदस्यहरूद्वारा दिवंगतहरूका चीर शान्तिका लागि श्रदान्जली स्वरुप द्वीप प्रज्वलनका लागि पालैपालो नाम बोलाएर द्वीप प्रज्वलन गराएका थिए ।
प्रवचन पश्चात संस्थाका उपाध्यक्ष हितमान गुरुङले उपस्थित सबैलाई स्वागत र धन्यवाद दिँदै संस्थाको गुम्बा निर्माणका लागि सहयोग गर्ने आग्रह गरे । संस्थाका वरिष्ठ सल्लाहकार राम गुरुङ र सल्लाहकार तथा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले संस्थाको हितका लागि छोटो मन्तव्य प्रकट गरेका थिए । संस्थाकी उपाध्यक्ष मिना गुरुङको संयोजनमा आमा समुहद्वारा भोजन र चियापानीको राम्रो व्यवस्था गरेको थियो ।
कार्यक्रममा संस्थाका आजिवन सदस्यहरूलाई खिम्पो सन्तोष गुरुङको बाहुलीबाट प्रमाणपत्र वितरण गरेका थिए । त्यसपछि गुरुदक्षिणा दिने क्रममा चारैजना गुरुहरूलाई ंसंस्थाका अध्यक्षद्वारा प्रशंसापत्र प्रदान गरेका थिए ।
हलभरीका भक्तजनहरूलाई कार्यक्रमको अन्ततिर संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले उपस्थित सबै सहयोगी श्रद्धालुहरू र आदरणीय गुरुहरूलाई आधार व्यक्त गर्दै धयवाद ज्ञापन गरेका थिए ।
