साहित्यकार सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीरको लोकार्पण
साहित्यकार को युद्ध उपन्यास कर्मवीरको लोकार्पण
२०८३ जेष्ठ १६, शनिबार
साहित्यकार सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले कृतिको लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली उपन्यास लेखनको इतिहास सिलसिलेवार लिपिबद्ध हुन नसके तापनि उपन्यास लेखन परम्परामा कर्मवीरले एउटा इटा थपेको बताए । उनले युद्ध उपन्यास लेखन परम्परा कम रहेको अवस्थामा यस्ता कृति सबैका लागि प्रिय हुने धारणा राखे ।
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले युद्ध केवल हार जीतको विषय मात्र नभएर पछिल्लो समय लेखन र पठनको पनि विषय भएको भन्दै खुसी व्यक्त गरे ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सुमलकुमार गुरुङको सरल, सहज लेखनले आफूलाई कार्गील युद्धताका गाइएको ‘पाइन खबर’ गीतको तत्कालीन परिवेशमा पु¥याएको धारणा राखिन् ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्चीले सुमलको साहित्य लेखन, स्रष्टाप्रतिको सम्मान र बुद्ध दर्शनप्रतिको चिन्तन आफू बेलायत पुग्दा राम्ररी अनुभूत गरेको स्मरण गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले गुरुङको ‘युरोप यात्राका अनुभूति’ आफ्नो युरोप यात्राको सारथि भएको स्मरण गर्दै सुमलको लेखन सामथ्र्यकै कारण नेपालको साझा प्रकाशनबाट कृति प्रकाशित हुनु गौरवको विषय रहेको धारणा राखे ।
कृति समीक्षा गर्दै समालोचक असफल गौतमले नेपाली साहित्यमा युद्ध उपन्यास लेखन परम्परा निकै कमजोर रहेको अवस्थामा बन्दुक चलाएको हातले नै युद्ध उपन्यास पाठकमाझ ल्याएकाले कृति विद्यालय-विश्वविद्यालयको पाठ्यक्रमका लागि उपयोगी रहेको बताए । उनले उपन्यासमा युद्ध मात्र नभएर हाम्रो सनातन संस्कृति, परम्परा, मूल्यमान्यतालाई समेत उपन्यासकाले कलात्मक रूपले अभिव्यक्त गरेकामा कृतज्ञता जाहेर गरे ।
तमू प्ये ल्हु संघका अध्यक्ष ओमबहादुर थिम्चे तमूले सुमलकुमार गुरुङको साहित्यिक, सामाजिक, सैनिक हरेक क्षेत्र सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।
चित्रेली तमु समाजका संस्थापक अध्यक्ष क्या. नारायणप्रसाद गुरुङले सुमलले १५ वर्ष पल्टनमा सेवापछि अवकाश लिएर सही निर्णय गरेकाले आज साहित्यकारका रूपमा पनि चिन्न पाएको भन्दै खुसी व्यक्त गरे ।
तमू धीँ नेपालका अध्यक्ष होम तमूले गुरुङको पहिलो कृति लोकार्पणमा परिचयात्मक टिप्पणी राखेको स्मरण गर्दै आफ्नै भवनमा उपन्यास लोकार्पण गर्न पाउँदा गौरव लागेको धारणा राखे ।
गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष गौरी गुरुङले सुमलकुमार गुरुङका बहुआयामबारे प्रकाश पार्दै सफल कर्मवीर र कलमवीरका रूपमा चित्रण गरिन् ।
लेखक सुमलकुमार गुरुङले आफ्नो जन्मभूमि चित्रेदेखि कार्गिल युद्धसम्मको परिवेशलाई उपन्यासमा लेखेको बताउँदै समारोहमा पुस्तक बिक्रीबाट जम्मा भएको १५ हजार रुपैयाँ तमु धीँ नेपालको कोषका लागि अध्यक्ष हुम तमुलाई हस्तान्तरण गरे ।
अनेसास आमा सारादेवी गुरुङले एउटा सर्जकको सारथि भएर सहयोग गर्न पाएकोमा गौरवबोध भएको धारणा व्यक्त गरिन् ।
तमु सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष चिजकाजी गुरुङले युद्ध साहित्य लेखनमा गुरुङ समुदायबाट डा. चन्दबहादुर गुरुङ र सुमलकुमार गुरुङको योगदान सुनौला अक्षरले लेखिने बताउँदै सुमलको ‘मेजर अर्जुनको औँँठी’ कथासङ्ग्रहसमेत पढ्नका लागि सुझाए ।
तमु सांस्कृतिक प्रतिष्ठानकी महासचिव कञ्चन गुरुङले पुरानो कोट लगाऊ नयाँ पुस्तक किन भन्ने मान्यतालाई आत्मसात गरेर पठन संस्कारमा लाग्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष लक्ष्मण थापा, मुक्तक मञ्च केन्द्रीय समिति अध्यक्ष अम्बिका भण्डारी, डागर स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष रमा पराशर, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथक, गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर तमू, साहित्य शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम हिमाली, हेमजा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष बलराम पौडेल, सिर्जना साहित्य सदनका सूर्यप्रसाद लम्साल, निवृत्त प्राध्यापक मञ्चका अध्यक्ष कृष्णप्रसाद पौडेल, लघुकथा प्रतिष्ठान नेपालका सचिव विष्णुप्रसाद बास्तोला, प्राकृतिक संरक्षण कोषका पूर्व सचिव तथा वातावरण विज्ञ जुद्धबहादुर गुरुङ, लिटिल स्टेप बोर्डिङका संस्थापक डा. चन्द्रबहादुर गुरुङ, नेखोल बराह भूक देउराली समाजका अध्यक्ष गंगाबहादुर गुरुङ, 6/5 GR अध्यक्ष सु.मे. जीतबहादुर गुरुङ, बाह्रबीसे पैँगी लामा परिवारका का.वा. अध्यक्ष क्या. डम्बरबहादुर गुरुङ, बगाले ढापकुना चेलीबेटी समाजका अध्यक्ष सरस्वती गुरुङलगायतको आतिथ्यता रहेको थियो ।
हिमाली सांस्कृतिक परिवारका कलाकारको सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो । समारोहमा विभिन्न संघसंस्थाले लेखकको आगामी लेखन यात्राको सफलताको कामनासहित शुभेच्छा सम्मान व्यक्त गरेका थिए ।
साझा प्रकाशनले प्रकाशित गरेको युद्ध उपन्यास कर्मवीरको बजार मूल्य ३५० रूपैयाँ रहेको छ । यसअघि उनका यात्रा स्पर्शको अनुभूति (नियात्रा), मुक्तक महक, बेलायतका कवि र कविता, यात्रास्पर्श (कविता), खोज्दैछु नेपाल (कविता), फेरि हङकङको सेरोफेरो (नियात्रा), मेजर अर्जुनको औँठी (कथा), युरोप यात्राका अनुभूतिहरू (नियात्रा) कृति प्रकाशित छन् । डागर स्मृति साहित्य पुरस्कार २०६९, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०७०, उत्कृष्ट साहित्य पुरस्कार २०७० लगायतका पुरस्कारबाट विभूषित भइसकेका उनी कुशल स्रष्टा, साधक, सङ्गठक र समाजसेवी व्यक्तित्व समेत हुन् ।






































