डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको चौथो वार्षिक साधारण सभा

२७ फुब्रुअरी २०२२को दिन पूर्व निर्धारित समय अनुसार संस्थाको निर्माणधिन गुम्बा हलमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङको सभापतित्वमा संस्थाको चौथो वार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । कोभिदको प्रभाव रहेतापनि झण्डै पाँच दर्जनजति ट्रस्टी सदस्यहरुको सहभागिता थियो । यस संस्थासंग आबद्ध विभिन्न संघसंस्थाका अध्यक्षहरुको सहभागिता र उनिहरुको सारगर्भित शुभकामना मन्तव्यले वार्षिक साधारण सभामा बडो रौनक छाएको थियो ।

सदा र्झै महासचिव योगेश गुरुङको सन्चालनमा वार्षिक साधारण सभाले गति लिईरहेको थियो । संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत सबै सहभागिहरुद्वारा द्वीप प्रज्वलन गरी वार्षिक साधारण शुभारम्भ भएको थियो । आसन ग्रहण पश्चात स्वास्थ्य सुरक्षाको बारेमा सम्प्रेषण र दिवंगत आत्महरुको आत्मशान्तिको प्रार्थना स्वारुप एक मिनटको मौन धारण गरेको थियो ।

वार्षिक साधारण सभालाई स्वागत सम्बोधन संस्थाका सहसचिव हेम प्रसाद छन्त्यालले गरेका थिए । यस लगत्तै संस्थाका अग्रज ट्रस्टीहरु क्रमश: ह्यारी गुरुङ, अध्यक्ष एसआरटीडी, दिपक श्रेष्ठ, अध्यक्ष बुद्ध फाउन्डेशन यूके, श्रीचन्द्र गुरुङ, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष एसईआरटीडी, हरी गुरुङ, अध्यक्ष फेदिखोला समाज यूके, क्या. नारायणबहादुर गुरुङ, एमभिओ, पूर्व अध्यक्ष, एसईआरटीडी, शर्मिला हिराचन, निवर्तमान अध्यक्ष आरजीएनएस, विजय गुरुङ, निवर्तमान अध्यक्ष, बीएनसी यूके, क्या. कमलबहादुर गुरुङ, पूर्व अध्यक्ष तमुट्हो ह्यूल, हङकङ, ओमप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष जिगेसा तथा विशन थापा, पूर्व अध्यक्ष, साउथईस्ट लण्डन मगर संघले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

वर्षभरिका कार्यक्रमहरुको संगालो समेटेर संस्थाका महासचिव, योगेश गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे लगत्ते हलले सगौरव अनुमोदन गरेको थियो । क्रम अनुसार संस्थाका कोषाध्यक्ष सुर्जा गुरुङले अत्यन्त प्रष्ट पारेर पावर प्वाईन्टको माध्यमबाट संस्थाको कोषको बारेमा छर्लाङ्ग पार्दै संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हलले तुरुन्तै तालीको गडगडाहटबिच अनुमोदन गरेको थियो । त्यसपछि आधाघन्टाको लागि लन्चब्रेक गरिएको थियो ।
आधा घन्टाको अन्तरालपछि समाजकी ट्रस्टी, साहित्यकार माया गुरुङको हालसालै प्रकाशित कविता सङ्ग्रहलाई पुन: अध्यक्ष लगायत उपस्थित अग्रजहरुले लोकार्पण गरेका थिए । माया गुरुङलाई पुष्पगुच्छ तथा खादा द्वारा अध्यक्षले सम्मान गरेका थिए । कृतिबारे अध्यक्षले प्रकाश पारेका थिए साथै सर्जक माया गुरुङले दुईशब्द संस्थालाई आभार स्वरुप धन्यवाद ज्ञापन गरेकी थिईन । उनको कृति सहभागि सबैलाई वितरण गरेका थिए । यसवर्ष ह्यामेटोलँजी विषयमा कन्सल्ट्यान्टको अध्ययन गरी नेपालीहरुमा सबैभन्दा कम उमेरमा कन्सल्ट्यान्ट बन्न सफल डा. सुदर्शन गुरुङलाई पनि समाजकी बृद्धा ट्रस्टी बनकुमारी गुरुङको हातबाट खादा पहिर्याएर सम्मान गरेको थियो ।
वार्षिक साधारण सभाको अन्तिम चरणमा अध्यक्ष सुमलकुमार गुरुङले संस्थाको विधान र गुम्बा सन्चालनको लागि आचार संहिताको विवरण पेश गरेका थिए । हलले तुरुन्त अनुमोदन गरेको थियो । त्यसपछि अध्यक्षले संस्थाको वर्तमान अवस्था, निर्माणको जानकारी, नेपालबाट सामाग्री खरिद र प्रायोजकहरुबाट प्राप्त रकमबारे र कार्गो सम्बन्धि हललाई जानकारी दिएका थिए । अन्तमा अध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरेर वार्षिक साधारण सभा समापन गरेका थिए ।
