डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले बेलायतको राजधानी लण्डनमा एउटा ऐतिहासिक पहिलो नेपाली गुम्बा गतवर्ष अगस्त महिनामा खरिद गरेको थियो । नेपालीहरुको बाक्लो बसोबास भएको वुलविच, लण्डन स्थित यस गुम्बालाई केहि महिना यतादेखि मरम्मत सम्भारको काम हँुदै आएको छ । अब आउने १६ मई २०२२को दिनमा नेपालीहरुमा नै बहुचर्चित आदरणीय, विद्वान धर्मगुरु, गुरुङ (तमु) बौद्ध लामा समाजका अध्यक्ष तथा पोखरा स्थित बौद्ध अर्घौ सदनका मुलगुरु शिरलामा (थुप्तेन येशे)गुरुङद्वारा विधिवत सामुहिक उद्घाटनको कार्यक्रम संस्थाले गर्ने भएको छ ।

नेपालबाट ०८ मई २०२२को साँझ हिथ्रोमा मुलगुरुको आगमनलाई स्वागत गर्नको लागि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङ लगायत पदाधिकारीहरु, सदस्यहरु, बुद्धिस्ट गुम्बा रेडिङका अध्यक्ष खेम गुरुङ लगायत कार्यक्रम समितिका सदस्यहरु, तमुधि यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष, ज्ञाम गुरुङ, बीसीसी केन्टका अध्यक्ष रणधोज गुरुङ तथा अन्य बेलायतमा बसोबास गर्दै आएका श्रद्धालुहरुको बाक्लो समुहले मुलगुरुलाई हिजो हिथ्रोमा भव्य स्वागत गरेको छ ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको १७ए विलेनहल, वुलविच, लण्डन, एसई१८ ६टीवाई गुम्बामा १५ मई २०२२को दिनमा ९बजेदेखि आदरणीय मुलगुरु र अन्य स्थानीय गुरुहरुको सहयोगबाट गुम्बा शुद्धिकरण पूजा, साधना पूजा, अनुयायीहरुलाई सम्मान र गुरुको प्रवचनको कार्यक्रम रहेको छ भने त्यसको भोलिपल्ट अर्थात १६ मई २०२२को दिनमा द्वीप प्रज्वलन शुरु गरेर गुम्बाको प्राणप्रतिष्ठा, औपचारिक उद्घाटन र कठ्युई पूजागरी भगवान बुद्धको जन्मजयन्ती मनाउने कार्यक्रम रहेको छ । यसपछि सम्मान तथा शुभकामनाको कार्यक्रम रहनेछ ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष तथा सम्पूर्ण कार्यकारी समितिको तर्फबाट यसै स्तम्भको माध्यमबाट सम्पूर्ण श्रद्धालु भक्तजनहरु, संस्थासंग जोडिएका ट्रस्टीहरु, सदस्यहरु र बौद्धधर्म अवलम्बि सम्पूर्णलाई डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको उद्घाटन समारोहमा उपस्थित भएर नेपालीमात्र नभई संसारकै प्रकाश पुञ्ज भगवान बुद्धलाई आफ्नो श्रद्धाभक्ति अर्पण गर्न हार्दिक अनुरोध गर्दछ ।
